झापा । प्रेस स्वतन्त्रताका लागि झापाका दश राजनीतिक दलहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । बिर्तामोडमा एकैथलोमा उपस्थित दलका अध्यक्ष तथा प्रतिनिधिहरुले प्रेस स्वतन्त्रताका लागि पाँच बुँदे लिखित प्रतिबद्धता जनाएका हुन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरेको ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तर संवादमा सहभागी दलका नेताहरुले प्रतिबद्धता जनाएका हुन् ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा दलका नेताहरुले सत्यतथ्यमा आधारित व्यवसायिक र मर्यादित पत्रकारितामा समेत जोड दिएका छन् । दलका नेताहरुलाई विभिन्न जिज्ञासा राख्दै प्रेस स्वतन्त्रताका लागि सुझाव दिएका सञ्चारकर्मीहरुलाई पनि दलका नेताहरुले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि प्रतिबद्ध रहन आग्रह गरेका थिए ।
सञ्चार क्षेत्र र राजनीतिक दलहरु बीच नियमित अन्तरक्रिया हुनुपर्नेमा समेत उनीहरुको जोड छ । संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारमै कार्यान्वयनका लागि नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सभापति केशवराज पाण्डे, नेकपा एमालेका तर्फबाट अध्यक्ष प्रेमबहादुर गिरी, नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादीका तर्फबाट अध्यक्ष समर राई, जनमत पार्टीका तर्फबाट अध्यक्ष भोटलाल राजवंशी, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष थिरबहादुर खवास र नेपाल कम्प्युनिष्ट पार्टीका तर्फबाट इञ्चार्ज सुमनसिंह सिले प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर गरेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, महासंघ झापाका पूर्व अध्यक्ष माधव विद्रोही लगायतले दलका नेताहरुलाई प्रेस स्वतन्त्रता प्रति जिम्मेवार बनाउन महासंघले महत्वपूर्ण कार्यक्रम आयोजना गरेको बताए । उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागतसहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।
त्यसक्रममा पत्रकारहरु प्रदीप परियार, विनोद पाण्डे लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, तारामणि सापकोटा, अग्रज पत्रकार शिरो सान्दाइसहित ९० भन्दा बढी सञ्चारकर्मीको सहभागिता थियो ।
यी हुन १० दलका पाँच वुँदे प्रतिबद्धता –
१) संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारमै कार्यान्वयनका लागि प्रतिबद्ध छौं । साथै प्रेस स्वतन्त्रताको सम्मान , रक्षा र कार्यान्वयनका लागि सरकारसहित सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदछौं ।
२) राज्यका तीनै तहमा सञ्चार सम्बन्धी कानूनहरु पूर्णरुपमा बनाएर कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदछौं । साथै झापाका १५ वटै स्थानीय सरकारलाई एक वर्षभित्र सञ्चार कानून निर्माण र कार्यान्वयन गर्न अपिल गर्दछौं ।
३) २०८१/१२/१५ गते काठमाडौंको तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्याको छानविन गर्न, परिवारलाई क्षतिपूर्ति दिन, घाइते पत्रकारको निःशुल्क उपचार र क्षति पुर्याइएका सञ्चार माध्यमलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं ।
४) पत्रकारको क्षमता वृद्धि तथा पत्रकार महासंघको संस्थागत विकास गर्दै मर्यादित र व्यावसयिक पत्रकारिताको विकासका लागि महासंघ र स्थानीय सरकारबीचको सहकार्यमा जोड दिंदै त्यसका लागि राजनीतिक दलहरुको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
५) झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको वृद्धिका लागि झापाका राजनीतिक दलहरुको तर्फबाट समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोषमा सहयोगका लागि सबै पक्षलाई अपिल गर्दछौं ।
श्री केशवराज पाण्डे, का.सभापति –नेपाली कांग्रेस झापा
श्री प्रेम गिरीे, अध्यक्ष –नेकपा एमाले झापा
श्री राजु आचार्य अग्नि, अध्यक्ष –नेकपा माओवादी केन्द्र झापा
श्री शम्भु सुस्केरा, सचिव –राष्ट्रिय स्वतन्त्र पार्टी झापा
श्री केशवप्रसाद ओझा, अध्यक्ष –राष्ट्रिय प्रजातन्त्र पार्टी झापा
श्री बेदराज रेग्मी, अध्यक्ष –नेकपा एकीकृत समाजवादी झापा
श्री समर राई, अध्यक्ष –जनता समाजवादी पार्टी, झापा
श्री भोटलाल राजवंशी, अध्यक्ष –जनमत पार्टी झापा
श्री थिरबहादुर खवास, अध्यक्ष –नागरिक उन्मुक्ति पार्टी झापा
श्री सुमन सिंह सि, इञ्चार्ज– नेपाल कम्युनिष्ट पार्टी
