पत्रकार उपचार कोषमा सहयोगको अपिल

उक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ स्वाभिमानी नेपाली पत्रकारहरुको छाता संस्था हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभियन्ता बनेका सञ्चारकर्मी नागरिकको सूचनाको हक प्राप्तिमा अहोरात्र खटिने सिपाही हुन् । मुलुकमा शान्ति, लोकतन्त्रको स्थापनासँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन नेपाल पत्रकार महासंघ र सञ्चारकर्मीले निर्वाह गरेको भूमिकाबाट हामी गौरवान्वित छौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पेशागत हकहितको अभियान र सञ्चारकर्मीको भौतिक सुरक्षा उत्तिकै चुनौतिपूर्ण पनि छ । राष्ट्र, राष्ट्रियतालाई सर्वोपरी ठानी सूचनाको हकको रक्षा गर्दै नागरिकको आवाज बुलन्द गरी सरकार, राजनीतिक दल लगायत जिम्मेवार निकायलाई जनहितमा काम गर्नका लागि खबरदारी गरेर सञ्चारकर्ममा जीवन नै समर्पण गर्ने सञ्चारकर्मीहरुले दुर्घटना तथा विभिन्न रोगबाट थलिएर उपचार खर्च अभावमा मृत्युवरण गर्नुपरेको अवस्था विद्यमान छ ।

खर्च अभावमा कुनै पनि सञ्चारकर्मीले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्य राखी आफ्नो दायित्व स्वरुप पत्रकार महासंघ झापा शाखाले पत्रकार–सहारा उपचार कोष स्थापना गरेको छ । कोषमा हाल ६५ लाख रुपैयाँ भन्दा बढी जम्मा भइसकेको छ । कोषको रकम क्रमशः एक करोड रुपैयाँ पु¥याउने महासंघको लक्ष्य छ । विभिन्न संस्था तथा व्यक्तिगतरुपमा नै महासंघको आह्वानमा उक्त  रकम जुटेको हो । सरकारी निकाय, संस्था तथा प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम प्रदान गर्नु भएको छ भने व्यक्तिगत रुपमा प्राप्त सहयोग जन्मोत्सव, विवाहउत्सव, पितृको स्मृति तथा अन्य विभिन्न अवसरमा दिइएको हो । यस्ता उत्सव मानवीय सेवा संग जोडिएका परोपकारी कर्ममा सहयोग गर्ने अवसर पनि हुन् ।


यो कोषमा दिइएको रकम दाताहरुकै नाममा महासंघको (पत्रकार सहारा उपचार कोष)  खातामा स्थायी रुपमा रहने छ  भने दाताहरु कोषको संस्थापकको रुपमा रहनुहुनेछ । कोषको ब्याजबाट पत्रकारलाई उपचारमा सहयोग गरिने र सो सम्बन्धी कार्यविधि पारित भई कोषबाट प्राप्त ब्याजबाट पत्रकारलाई उपचार सहयोग दिन थालिएकोे जानकारी गराउन पाउँदा हामी हर्षित छौं ।
अतः झापाली सञ्चारकर्मीको सामाजिक सुरक्षाको लागि स्थापित उक्त कोषमा तपार्इंबाट उल्लेख्य आर्थिक सहयोग पु¥याइदिनु हुन विनम्र  अनुरोध गर्दछौं । यो सहयोगलाई हामीले तपाइको परोपकारी भावना र सामाजिक उत्तरदायित्वको रुपमा समेत हेरेका छौं । पत्रकारको हितार्थ एक पटकलाई दिल खोलेर सहयोग गर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । हामीलाई विश्वास छ– तपाईंबाट उल्लेख्य आर्थिक सहयोग प्राप्त हुनेछ, साथै उक्त सहयोग पत्रकारको जीवन रक्षाको सहारा बन्नेछ ।
सेवा नै धर्म हो, धर्म नै दान तथा परोपकारी कार्य हो ।  
 धन्यवाद !


नेपाल पत्रकार महासंघ झापा परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *