प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
मिति ः २०८१।१०।१२

झापाको गौरीगञ्जस्थित गौरीगञ्ज दर्पण डटकमका प्रधान सम्पादक मदन राजवंशीलाई खजुरगाछी साना किसान सहकारीको रकम अपचलनको विषयमा सम्प्रेषित समाचारको विषयलाई लिएर स्थानीय एक समूहले आक्रमण गर्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको ध्यानाकर्षण भएको छ ।
मिति २०८१ माघ १० गते राति गौरीगञ्जमा जारी आदिवासी जनजाति महोत्सवको प्रत्यक्ष प्रशारण गरी घर फर्कने क्रममा स्थानीय एकराज चम्लागाईं, सन्तोष कार्की लगायतको समूहले प्रहरीकै अघि सहकारीको समाचार किन लेखेको भनी धम्क्याउदै पत्रकार राजवंशीलाई आक्रमणको प्रयास गरेका थिए । पत्रकारमाथि आक्रमणको प्रयास गर्ने समूहलाई प्रहरी र स्वयंसेवकले पछि लखेटेका थिए । घटनामा संलग्न चम्लागाईं र कार्कीलाई प्रहरीले पक्राउ गरे पनि अन्यलाई हालसम्म पक्राउ नगरेको पीडित पत्रकार राजवंशीले बताएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्क्याउदै भौतिक आक्रमणको प्रयास गर्ने तथा हतोत्साहित बनाउने जस्ता प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति महासंघ झापा शाखा खेद व्यक्त गर्दछ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कार्वाहीका निमित्त आग्रह गर्दै पत्रकारको सुरक्षामा गम्भीर हुन महासंघ झापा शाखा सरकारलाई आग्रह गर्दछ । साथै संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन महासंघ स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।

राजु पाठक
सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *